काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार यो वर्ष ६१.८१ प्रतिसत परिक्षार्थीले जिपिए प्राप्त गर्न सफल भएका छन । साथै ३.६० जीपीएभन्दा माथि प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १७७ पुगेको छ।
बोर्डका परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड सुधारका लागि ६७ हजार ७१५ विद्यार्थी गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
यसपटक चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको बोर्डले जनाएको छ। असार ७ गते नै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि शिक्षक आन्दोलनका कारण केही ढिलाइ भएको थियो।
बोर्डका अनुसार ग्रेडिङ प्रणालीअन्तर्गत विद्यार्थीको नतिजा अनलाइन तथा एसएमएसमार्फत सार्वजनिक गरिएको छ। विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले एसईईमा ग्रेडिङ प्रणाली लागू गरिएको हो।











