FLASH NEWS
  • Loading...

काठमाडौँमा दुईदिने शैक्षिक सम्मेलन सम्पन्न, शिक्षा नवप्रवर्तनको साझेदारीमा जोड

काठमाडौँमा दुईदिने शैक्षिक सम्मेलन सम्पन्न, शिक्षा नवप्रवर्तनको साझेदारीमा जोड

शिक्षापाटी

काठमाडौँ, असार १४ : काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल, भुटान, बाङ्लादेश, भारत र कोरियाका शैक्षिक विज्ञको सहभागितामा असार १३ र १४ गते काठमाडौँमा आयोजित दुईदिने शैक्षिक सम्मेलन (Educational Conference on Enabling Innovations in Education Planning and Implementation) सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका छात्रा

राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा आयोजित सम्मेलनका सत्रहरूले काठमाडौँ महानगरले अघि सारेका शैक्षिक नवप्रवर्तनका कार्यक्रमहरू लाभदायी र दीगो नतिजा दिने खालका भएको निष्कर्ष निकालेका छन्। शिक्षाका यस्ता अभ्यासलाई तहगत सरकारले अपनत्व ग्रहण गरी कार्यान्वयनमा बहुपक्षीय सहकार्य आवश्यक रहेको धारणा सत्रबाट सार्वजनिक भयो।

कार्यपत्र प्रस्तुत गर्दै डा उषा झा

सम्मेलनमा भुटानका पूर्व शिक्षामन्त्री ठाकुर एस. पौड्याल, नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, शैक्षिक विज्ञ, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो। सहभागीहरूले सार्वजनिक शिक्षामा नवप्रवर्तन आवश्यक रहेको र यसका लागि स्थानीय स्रोत, वातावरण र सन्दर्भअनुकूल कार्यक्रम विकास गर्नुपर्ने बताए।

भुटानाका पुर्व शिक्षामन्त्री ठाकुर एस पौडेल

सम्मेलनका समानान्तर सत्रहरूमा प्रारम्भिक बाल शिक्षा र विकास, भर्चुअल शिक्षण सिकाइ, शिक्षकको पेशागत विकास, शैक्षिक पूर्वाधार, डिजिटल प्रविधिको प्रयोग, हरित र स्मार्ट विद्यालयको अवधारणा, बदलिँदो विदेशी सहयोग, शिक्षा ऐनका प्रभाव जस्ता विषयमा छलफल भएको थियो।

महानगरले अघि सारेको पुस्तकरहित शुक्रबार (Book Free Friday) कार्यक्रमका बारेमा अन्तर्राष्ट्रिय विज्ञले सकारात्मक प्रतिक्रिया जनाउँदै आफ्ना देशका यस्तै अभ्यासको अनुभव पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीलाई सिकाइमा सृजनशीलता र सीप विकासमा जोड दिइएको छ।

अन्तरक्रियामा सहभागिता जनाउदै शिक्षकहरु

महानगरले शैक्षिक सुधारका लागि पूर्वाधार, शैक्षिक सामग्री, मानव पुँजी विकास र सुशासनमा लगानी विस्तार गरेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्मका लागि विभिन्न सिर्जनात्मक र सीपमूलक पाठ्यक्रम सञ्चालन गरेको छ भने शिक्षकको क्षमता अभिवृद्धिका लागि टिचर्स कलेज कार्यक्रम र विषयगत तालिमहरू पनि अगाडि बढाएको छ।

सम्मेलनमा सहभागी शिक्षक

महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार सम्मेलनका क्रममा प्राप्त सुझाव र पृष्ठपोषणलाई आगामी शैक्षिक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्दा समावेश गरिनेछ।


थप तस्वीरहरु 

तस्वीर : काठमाडौं महानगरपालिका

प्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार