शिक्षा पाटी, असार -१५।
काठमाडौं — संघीय निजामती सेवा विधेयक पारित गरेसँगै प्रतिनिधि सभा आइतबारको बैठकबाट एक साताका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बोलाएका छन् ।
सरकारले शिक्षकहरुसँग सम्झौता गरी आजै विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने बताएको थियो, तर समितिमा छलफल नसकिएकाले अघि बढाउन सकेन । समितिका सभापति अम्मरबहादुर थापा छिट्टै छलफल टुंग्याउने भन्दै आएका छन् भने केही सदस्यहरुले अझै केही विषयमा सहमति हुन बाँकी रहेको जनाएका छन् ।
यता, नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमै पुगेर सांसदहरूलाई दबाब दिएको छ । ऐन जारी गर्न माग गर्दै उनीहरूले आन्दोलन र शैक्षिक हड्ताल चर्काएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका थिए, तर अन्तिममा त्यो सम्भव भएन ।
संसदीय समितिमा छलफल अपूरो, संसद स्थगित र शिक्षक आन्दोलनको दबाबबीच विद्यालय शिक्षा विधेयक पारित हुने मिति अझै अनिश्चित बनेको छ ।











