शिक्षा पाटी
काठमाडौं । विद्यालय शिक्षा विधेयकको बाँकी विषयमा सहमति जुटाउन आज सोमबार पनि संसदीय समितिको बैठक बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक उपसमितिको प्रतिवेदनमाथि केही दिनयता निरन्तर छलफल चलिरहेको छ, तर केही विवादित विषय अझै टुंगिन बाँकी रहेकाले पुनः बैठक राखिएको हो।
समितिका सदस्य तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार कतिपय विषयमा सहमति जुटिसकेको छ भने केहीमा छलफल आवश्यक छ। समितिका सभापति अम्मरबहादुर थापाले बाँकी विषयलाई केही दिनभित्र टुंग्याउने गरी छलफल अघि बढ्ने बताए।
शिक्षकहरूसँग सरकारले असार १५ भित्रै विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको भए पनि तोकिएको मिति नाघिसकेको छ। त्यसैले बाँकी विषय चाँडै निष्कर्षमा पुर्याउन समिति सक्रिय भएको छ।
समितिमा अहिलेसम्म सहमति जुटेका विषयहरूमध्ये मुख्य बुँदाहरू यस्ता छन् —
-
शिक्षा विषयबाहेक अन्य विषय पढेकालाई पनि शिक्षक बन्न अवसर प्रदान गर्ने
-
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशमार्फत सञ्चालन गरिने
-
प्रत्येक जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई स्थापना
-
निजी विद्यालयहरूको सञ्चालन र व्यवस्थापन
-
प्रारम्भिक बाल विकास शिक्षाको प्रवर्धन
-
शिक्षकहरूको अस्थायी सेवा गणना गर्ने व्यवस्था
-
शिक्षकहरूको आवधिक बढुवाको व्यवस्था
यसैबीच, आइतबारको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेसँगै बैठक असार २३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।











