शिक्षा पाटी
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक छिट्टै आउने स्पष्ट पारेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सरकारले उक्त विधेयक रोक्न नखोजेको बताए।
“केही विषयमा सहमति जुटाउनुपर्ने आवश्यकता भएकाले विधेयक केही दिनका लागि स्थगन गरिएको हो,” मन्त्री पन्तले स्पष्ट गरे। उनका अनुसार शिक्षक महासंघसँग भएको नौबुँदे सहमतिअनुसार सो विधेयक यही असार १५ गतेभित्र प्रस्तुत गर्ने तयारी भइरहेको छ।
विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौताका बुँदा समेटेर अगाडि बढाइएको जानकारी उनले दिए। पछिल्लोपटक महासंघसँग भएको नौबुँदे सहमतिको अधिकांश विषय आगामी आवको बजेटमा समेत समावेश गरिएको उनले बताए।
“यो विधेयक आउँदा शिक्षकहरूले मात्रै होइन, देश र जनताले पनि जित्ने भएकाले यसलाई केन्द्रमा राखेर काम भइरहेको छ,” मन्त्री पन्तले बताए।
उनले शिक्षा क्षेत्र मुलुकको विकास र समृद्धिको आधार भएकाले आगामी आवका लागि सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएकोसमेत उल्लेख गरे।











