FLASH NEWS
  • Loading...

मन्थली नगरपालिकाको शिक्षामा ऐतिहासिक लगानी, ४ करोड ४० लाख बजेट विनियोजन

मन्थली नगरपालिकाको शिक्षामा ऐतिहासिक लगानी, ४ करोड ४० लाख बजेट विनियोजन

मन्थली, रामेछाप – मन्थली नगरपालिकाले शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आगामी आर्थिक वर्षका लागि ४ करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर सुधार, सबै बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्ने तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।

सामाजिक सञ्जाल तिर

नगरपालिकाको मुख्य ध्येय संघ तथा प्रदेश सरकारसँग सहकार्य गर्दै ५ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनु, उनीहरूको नियमित उपस्थिति तथा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु रहेको छ। यसका लागि आवश्यक बजेट विनियोजन गरिने र ‘अनिवार्य तथा निःशुल्क शिक्षा भएको वडा’ घोषणा अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

माध्यमिक तहमा विद्यालय छाडेका विद्यार्थीलाई पुनः शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रम ल्याइनेछ। उनीहरूलाई नजिकैको माध्यमिक विद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने आवासको व्यवस्था समेत मिलाइनेछ। त्यस्तै, मन्थलीलाई बालमैत्री नगरको रूपमा स्थापित गर्न संघ, प्रदेश तथा अन्य सहयोगी संस्थाहरूसँगको साझेदारीमा विद्यालय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।

सामुदायिक विद्यालयहरूको आर्थिक पक्ष सुदृढ बनाउन संघीय सरकारबाट प्राप्त हुने अनुदानका अतिरिक्त नगरपालिकाले तहगत रूपमा थप बजेट उपलब्ध गराउनेछ। यसले शैक्षिक गतिविधिको सञ्चालनलाई थप सहज बनाउने विश्वास गरिएको छ।

विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्न विज्ञान प्रदर्शनी, हाजिरीजवाफ, वक्तृत्वकला, गणित सामग्री प्रदर्शनी, शैक्षिक मेला र सांस्कृतिक कार्यक्रमजस्ता विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ।

आधारभूत तहमा विज्ञान शिक्षकको अभावलाई सम्बोधन गर्न प्रत्येक वडाबाट एक/एक जना विद्यार्थीलाई कक्षा ११–१२ मा विज्ञान विषय निःशुल्क अध्ययन गराउने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। ती विद्यार्थीलाई विज्ञान शिक्षणमा सहयोग पुर्‍याउन इन्टर्नसिप कार्यक्रममार्फत प्रशिक्षण प्रदान गरिनेछ। साथै, कृषि तथा पशु विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूका लागि रामेछाप पोलिटेक्निकमा छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको क्षमता विकासलाई उच्च प्राथमिकता दिइएको छ। उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउने शिक्षक, विद्यार्थी र विद्यालयलाई प्रोत्साहन तथा पुरस्कृत गरिने नीति अवलम्बन गरिएको छ।

बाल विकास केन्द्र र प्रारम्भिक कक्षाको पहुँच विस्तारका लागि साझेदार संस्थासँग सहकार्य गरिनेछ। बाल विकास सहजकर्ता र शिक्षकहरूलाई बालमनोविज्ञानमा आधारित शिक्षण सीप तथा कक्षा कोठा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिनेछ।

विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न लेखा व्यवस्थापन तालिम तथा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। अटिजम भएका बालबालिकाका लागि शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गरिनेछ।

विद्यार्थीहरूमा सामाजिक सद्भाव, स्वयंसेवा तथा नेतृत्व क्षमताको विकास गर्न नेपाल स्काउट, जुनियर रेडक्रस सर्कल र बाल समूहहरूलाई थप क्रियाशील बनाइनेछ। खेलकुदको माध्यमबाट विद्यार्थी तथा युवाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउन नगरस्तरीय युवा परिषद् मार्फत युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ। संगीत शिक्षाको प्रवर्द्धनका लागि शिक्षकहरूलाई तालिम प्रदान गरिनेछ।

यस शैक्षिक सत्रमा भर्ना भएका नयाँ तथा अघिल्लो सत्रमा नियुक्त भएका शिक्षकहरूको सिकाइ सहजीकरण प्रक्रिया प्रभावकारी बनाउन शिक्षक मेन्टरिङ कार्यक्रम सञ्चालन गरिनेछ।

नगरपालिकाले अघि सारेका यी दूरगामी योजनाहरूले मन्थली नगरको शैक्षिक परिदृश्यमा नविनतम परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। आगामी वर्षको बजेट कार्यान्वयनसँगै यी योजनाहरूले कस्तो मूर्तरूप लिन्छन् भन्ने कुरा भने प्रतीक्षाको विषय रहेको छ।

प्रकाशित मिति: २०८२ अषाढ २१, शनिबार