श्रावण -१, रामेछाप ।
रामेछापको डहुमा अवस्थित डहु नमूना माध्यमिक विद्यालयले शिक्षासँगै आत्मनिर्भरता र उत्पादनमुखी अभ्यासलाई जोड्दै उदाहरणीय कार्य गर्दै आएको छ। विद्यालयले सञ्चालनमा ल्याएको बङ्गुरपालन परियोजनामार्फत श्रावण सङ्क्रान्तीका दिन मात्र २ वटा बङ्गुर बराबर १६८ के.जि. मासु बजार तथा समुदायमा खपत गराएको छ। अहिलेसम्म ४ वटा बङ्गुर बिक्री भई विद्यालयको आफ्नै कोषमा रु. १,३५,००० आम्दानी भइसकेको छ।

विद्यालयका प्रधानाध्यापक दलबहादुर तामाङका अनुसार, होस्टलबाट वेस्टेज हुने खाद्य वस्तुहरूको पुनः प्रयोग गरी बङ्गुर फार्म सञ्चालनमा ल्याइएको हो। हाल विद्यालयसँग ८४ के.जि. भन्दा बढी तौल भएका ७ वटा बङ्गुर अझै बिक्रीका लागि तयारी अवस्थामा छन्, जसबाट मात्रै ४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने निश्चित छ। यसले विद्यालयलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने दिशामा थप हौसला मिलेको प्रअ तामाङले बताए।

सिर्जनात्मक अभ्यास मात्र नभई शैक्षिक क्षेत्रमा पनि डहु माविले उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ। हालै सम्पन्न एसइई परीक्षामा विद्यालयले सर्वोत्कृष्ट नतिजा प्रस्तुत गरेको छ, जसले नमूना विद्यालयका रूपमा यसको हैसियत अझ बलियो बनाएको छ।

शैक्षिक गुणस्तर, सीपमूलक प्रयोग र आत्मनिर्भरताको संगम बनिरहेको डहु माविको यो अभ्यास अन्य विद्यालयका लागि प्रेरणादायी बन्ने निश्चित देखिन्छ।
–– शिक्षा पाटी











