साउन-१०, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकलाई लिएर वर्तमान सरकारमाथि षड्यन्त्र गरेको गम्भीर आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले विद्यालय शिक्षा विधेयक संसदमा पुर्याउने क्रममा चलखेल र छेडखानी भएको बताएका हुन्।
उनले वर्तमान सरकारलाई ‘जालझेल, ठगी, भ्रष्टाचार र बेइमानीको नमूना’ भन्दै कडा आलोचना गरे। प्रचण्डका अनुसार, अघिल्लो शिक्षक आन्दोलनमा सरकारले शिक्षकसँग सहमति गर्न सक्नुमा माओवादी नेतृत्वको सरकारको मुख्य भूमिका थियो।
‘विधेयकको मस्यौदा पनि हाम्रो पहलमा बनेको हो’, प्रचण्डले भने, ‘तर संसदमा लैजाँदा त्यसमा खेलबाड भयो।’
संघीय निजामती विधेयकमा भएको घटनालाई उदाहरण दिँदै उनले शिक्षा विधेयकमा पनि त्यस्तै हस्तक्षेप भएको दाबी गरे।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति अपमानजनक व्यवहार देखाएको आरोप पनि प्रचण्डले लगाए।
‘सरकारले असार १५ भित्र शिक्षा ऐन ल्याउने भनेको थियो, तर फेरि षड्यन्त्र भयो’, उनले भने।











