FLASH NEWS
  • Loading...

विद्यालयमा ४२ वर्षको सेवा पश्चात्, क्रीमलालको भावुक विदाइ

विद्यालयमा ४२ वर्षको सेवा पश्चात्, क्रीमलालको भावुक विदाइ

कैलालीको बेहडाबाबा माध्यमिक विद्यालयमा आज एउटा भावुक तर सम्मानले भरिएको क्षण बाँडियो। विद्यालयका कार्यालय सहयोगी श्री क्रिमलाल चौधरी, जसले लगातार ४२ वर्ष ४ महिना ११ दिनसम्म यस विद्यालयमा घण्टी बजाउँदै, कागज–पत्र सम्हाल्दै र हरेक आवश्यकता पूरा गर्दै आफ्नो जीवनको ठूलो हिस्सा अर्पण गर्नुभयो, अब औपचारिक रूपमा सेवा–निवृत्त हुनु भएको छ।

सामाजिक सञ्जाल तिर

उनको दीर्घकालीन, इमानदार र निस्वार्थ सेवाको कदर गर्दै विद्यालय परिवारले उहाँलाई विशेष सम्मानका साथ बिदाई गर्‍यो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनारायण रानाथारुबाट टेबल पंखा र मल्टिप्लग, सदस्य शिवराज जोशीबाट रु. १,१६० नगद, अभिभावक सहदेव रेग्मीबाट रु. १,०००, शिक्षक–कर्मचारीहरूबाट रु. ४०,१००, र विद्यार्थीहरूबाट संकलित रु. २१,३८५ प्रदान गरियो। यसै रकमबाट रु. ७,३५० मूल्यको नयाँ साइकल किनी, बाँकी रकम उहाँलाई सम्मानपूर्वक अर्पण गरियो।

कार्यक्रममा बोल्ने सबैको मुखबाट एउटै कुरा निस्कियो—क्रिमलाल चौधरी केवल कार्यालय सहयोगी मात्र होइन, विद्यालयको धड्कन जस्तै हुनुहुन्थ्यो। उहाँको समयपालन, अनुशासन, र निस्वार्थ भावनाले विद्यालयमा अनुकरणीय उदाहरण स्थापित गरेको छ।

बिदाईको अन्तिम क्षणमा, आँखा रसाएका विद्यार्थीदेखि लिएर पुराना सहकर्मीहरू सबैले एउटै शुभकामना दिए—“उहाँको सेवा–निवृत्त जीवन सुखमय, स्वस्थ र मंगलमय रहोस्।” विद्यालयको आँगनमा घण्टीको आवाज अब अरूले बजाउने भए पनि, क्रिमलाल चौधरीको योगदानको गुञ्जन भने सधैं रहिरहनेछ।

“४२ वर्षको सेवापश्चात क्रिमलाल चौधरीलाई बेहडाबाबा माविको भावुक बिदाई”

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार