काठमाडौँ । सूचना प्रविधिको प्रभावकारी प्रयोगले शिक्षा र स्वास्थ्य क्षेत्रमा अद्भुत सुधार ल्याउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा आइतबार आयोजना गरिएको विश्व आईटी सम्मेलन मा बोल्दै उनले युवाको सक्रियताले यो सम्भव भएको स्पष्ट पारे।
ओलीका अनुसार गत वर्ष एसईईमा पास हुने दर ४८ प्रतिशत मात्र थियो भने यस वर्ष ६२ प्रतिशतमा पुर्याउन युवाको अनलाइन अभियान निर्णायक रह्यो। “दुई सयभन्दा बढी मेन्टर र दर्जनौँ शिक्षकमार्फत काठमाडौँबाटै देशभरका विद्यार्थीलाई पढाइ भयो। यसकै कारण १४ प्रतिशत नतिजा सुधारिएको हो,” उनले भने।
प्रधानमन्त्रीले सरकारको तर्फबाट सञ्चार मन्त्रालयले इन्टरनेट सुविधा उपलब्ध गराएर अभियानलाई सहयोग पुर्याएको उल्लेख गरे। “सानो खर्चमा लाखौँ विद्यार्थी लाभान्वित भए,” उनले जोड दिए।
शिक्षामा मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि प्रविधिको प्रभाव देखिन थालेको उनको भनाइ थियो। “साना अस्पतालहरूले ठूला अस्पतालसँग अनलाइन प्रणालीमार्फत विशेषज्ञ सेवा लिन थालेका छन्। स्वास्थ्य परीक्षणदेखि उपचारसम्म अनलाइन पहुँच विस्तार भएको छ,” ओलीले बताए।
👉











