FLASH NEWS
  • Loading...

हिस्टुनले सरकारलाई बुझायो ज्ञापनपत्र , माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

  • शिक्षापाटि समाचार
  • ३६६ पटक पढिएको
हिस्टुनले सरकारलाई बुझायो ज्ञापनपत्र , माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालले शिक्षाको गुणस्तर सुनिश्चित गर्दै शिक्षकको पेशागत सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ।

युनियनले शिक्षामन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा विद्यालय शिक्षा ऐनअन्तर्गत माध्यमिक तहलाई दुई वर्गमा विभाजन गरी कक्षा ११ र १२ अध्यापन गर्न सक्ने शिक्षकको योग्यता तोकिएअनुसार तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

साथै, नेपालको संविधानले तोकेको अनुसार कक्षा १२ सम्मको शिक्षा निःशुल्क र सर्वसुलभ बनाउनुपर्ने र त्यसका लागि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क असुल गर्न नपाइने व्यवस्थालाई कडाइका साथ पालना गराउनुपर्ने माग राखिएको छ।

युनियनका अध्यक्ष टीकारामसात न्यौपानेले शिक्षकको पेशागत हकहित, पारिश्रमिक, सामाजिक सुरक्षासँगै स्थानीय तहमा देखिएका समस्याको समाधानमा शिक्षा मन्त्रालयले चासो दिनुपर्ने बताए। उनका अनुसार विद्यालयमा खटाइएका राहत तथा करार शिक्षकलाई दीर्घकालीन समाधान दिनुपर्ने, समयमै तलब वितरण गर्नुपर्ने र अस्थायी शिक्षकलाई स्थायी सेवामा समायोजन गर्ने प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको छ।

ज्ञापनपत्रमा सामुदायिक विद्यालयमा देखिएका शैक्षिक तथा प्रशासनिक चुनौती, पठन–पाठनमा देखिएका अवरोध, शिक्षक दरबन्दी अभाव र न्यायोचित कार्यसम्पादनको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।

युनियनले विद्यालयको उच्च माध्यमिक तह सञ्चालनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरी नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने, नियुक्ति प्रक्रिया पारदर्शी बनाउनुपर्ने र आगामी शैक्षिक सत्रदेखि सबै शिक्षकलाई नियमानुसार सेवा–सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।


👉  ज्ञापनपत्र

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलबार