२९ भदौ ,काठमाण्डौ । आज भदौ २९ गते देशभर ६१औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो।
नेपालले २०४७ साल भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरेको दिनलाई स्मरण गर्दै २०६३ सालदेखि प्रत्येक वर्ष यस दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउन थालिएको हो। त्यस्तै २०६४ सालदेखि हरेक वर्ष विशेष विषयवस्तुमा आधारित नारा तय गरी विभिन्न कार्यक्रम हुँदै आएका छन्।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा अंगीकार गर्दै शिक्षा, स्वास्थ्य, पालनपोषण, मनोरञ्जन र व्यक्तित्व विकासमा पहुँच सुनिश्चित गर्ने व्यवस्था गरेको छ। तर व्यावहारिक रूपमा अझै धेरै बालबालिका यस्ता अधिकारबाट वञ्चित रहेको तथ्यले चुनौती उब्जाइरहेको छ।
यसअघि बाल दिवस रत्न शाहको जन्मदिन अर्थात् भदौ ४ गते मिठाई, फलफूल बाँडफाँट र नाचगानसहित मनाउने परम्परा रहेको थियो।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा ध्यान दिँदै आवश्यक लगानी सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। उहाँले बालबालिकामाथि हुने अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार अन्त्य गर्न सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।











