FLASH NEWS
  • Loading...

न्युन विद्यार्थी भएका विद्यालय मर्जर र माविमा कम्प्युटर शिक्षक दरबन्दी व्यवस्था गर्न मन्त्री पुनः को निर्देशन

सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै मन्त्री पुनले यो कुराको जानकारी दिएका हुन
न्युन विद्यार्थी भएका विद्यालय मर्जर र माविमा कम्प्युटर शिक्षक दरबन्दी व्यवस्था गर्न मन्त्री पुनः को निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार  शिक्षा क्षेत्रका विभिन्न निकायसँग गहन छलफल गरी महत्वपूर्ण निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले नास्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्रमा गरेको भेटघाटबारे जानकारी दिएका हुन्।

मन्त्री पुनका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा करिब दुई घण्टा लामो छलफलमा उनले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। ३७ करोडको बजेटमध्ये २७ करोड प्रशासनिक खर्चमा र १० करोड मात्र अनुसन्धानका लागि छुट्याइएको देखिएको भन्दै उनले यो अनुपात सुधार गर्न जोड दिएका छन्। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र बनाउन सुझाव तयार गर्न सबैलाई एक साताभित्र निर्देशन दिइएको उनले बताए।

त्यसैगरी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भएको छलफलमा मन्त्री पुनले शिक्षक दखल मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्ज प्रक्रिया, र देशभर लागू हुने गरी योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया बनाउन कार्यविधि तयार गर्न निर्देशन दिएका छन्। उनले डिजिटल सिकाइलाई प्रोत्साहन गर्न अनलाइन शैक्षिक सामग्री निर्माणमा विशेष जोड दिन समेत आग्रह गरेका छन्।

पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा लामो छलफल गर्दै मन्त्री पुनले सामुदायिक र निजी विद्यालयको पाठ्यक्रम विकासमा समान गम्भीरता अपनाउन निर्देशन दिएका छन्। उनले मातृभाषा, नैतिक शिक्षा, व्यावहारिक सीप, इतिहास र संविधानसम्बन्धी ज्ञानलाई पाठ्यक्रममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। साथै, आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० अङ्कको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले त्यसअनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनका यी निर्देशनले शिक्षा प्रणालीलाई व्यवस्थित, आधुनिक र प्राविधिक बनाउने संकेत दिएको बताइन्छ।

प्रकाशित मिति: २०८२ आश्विन २३, बिहिबार