- Loading...
विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा, संसदमा पेस गर्ने तयारी

- CB Dharajanमुख्य समाचार
- ३९४१ पटक पढिएको
काठमाडौं, असार १२
विद्यालय शिक्षा विधेयक अन्ततः संसदको ढोकामा पुगेको छ। लामो समयदेखि बहस र आन्दोलनको घेरामा रहेको विधेयक अब प्रतिनिधिसभामा पेस हुने अन्तिम तयारीमा पुगेको छ।
सामाजिक सञ्जाल तिर
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार अन्तिम छलफलका लागि बैठक बोलाएको छ। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार छलफल सकिएलगत्तै शुक्रबार विधेयकलाई पारित गरेर संसदमा पेश गरिने छ। यसअघि समन्वय उपसमितिले बाँकी रहेका विषयमा टुंगो लगाउने जनाइएको छ।
समितिमा छलफल भइरहँदा कतिपय विषयहरूमा सहमति जुटिसकेको छ भने केही बुँदाहरूमा अझै निष्कर्ष आउन बाँकी रहेको स्रोतको भनाइ छ। तर समितिस्रोतका अनुसार, “प्रमुख विषयहरूमा निर्णय भइसकेकोले संसदमा यो विधेयकमाथि विस्तृत छलफल आवश्यक नपर्न सक्छ।”
विधेयक संसदबाट पारित भएपछि राष्ट्रिय सभामा लैजाने, सामान्य छलफलपछि पुनः प्रतिनिधिसभामा फिर्ता ल्याएर अन्तिम प्रक्रिया अघि बढाइनेछ। अन्ततः राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक कार्यान्वयनको चरणमा पुग्नेछ।
शिक्षक आन्दोलनले ल्यायो विधेयकमा तिव्रता
शिक्षा विधेयकका लागि दबाब भने सडकमैबाट सुरु भएको हो। विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षक तथा कर्मचारीहरुले चैतदेखि व्यापक आन्दोलन चर्काएका थिए। काठमाडौं केन्द्रित प्रदर्शनपछि सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र ऐन ल्याउने सहमति गरेको थियो।
तर महासंघले विधेयकको प्रारम्भिक मस्यौदामा आफ्नो भावना अनुसारका बुँदा समावेश नभएको भन्दै असन्तुष्टि जनाएको थियो। त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले पटकपटक समन्वय समिति र सम्बन्धित पक्षसँग संवाद गर्दै धारणा स्पष्ट पारेका थिए।
समिति स्तरमा केही समय अलमलिएको छलफल अब अन्तिम मोडमा आइपुगेको छ। शिक्षा क्षेत्रका विज्ञ, संघसंस्था तथा आम शिक्षक समुदायको चासोमा रहेको विधेयक अब कानुनी रूप लिएर व्यवहारमा आउने दिन नजिकिँदैछ।










