शिक्षा पाटी
असार -१३, काठमाण्डाै, : निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहमति जुटेको छ। आज बसेको समितिको बैठकले निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाउने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
विगतदेखि चर्चामा रहेको निजी विद्यालयलाई अहिलेकै कम्पनी मोडलमा सञ्चालन गर्ने वा गैरनाफामूलक गुठी मोडलमा लैजाने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो। छलफलका क्रममा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले मिश्रित धारणा राखे भने प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निश्चित समयसीमा तोकेर निजी विद्यालयलाई गुठी मोडलमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तले सार्वजनिक शिक्षामा राज्यको लगानी र प्राथमिकता बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले निजी क्षेत्रको सुधारसँगै सरकारी विद्यालयको गुणस्तर उकास्न समेत सरकार गम्भीर रहेको बताउनुभयो।











