काठमाण्डौ — कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम विद्यार्थीले परीक्षा पास गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बागमती प्रदेशका एक लाख १९ हजार ५१७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछाडि लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७, सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, कोशी प्रदेशबाट ४७ हजार ८३५ र कर्णाली प्रदेशबाट ४६ हजार ४५५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यता विषयगत नतिजा हेर्दा गणितमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। बोर्डका अनुसार गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएका छन्। त्यसैगरी अङ्ग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, विज्ञान विषयमा ७९ हजार २७१ विद्यार्थी ननग्रेडेड भएका छन्।
यस्तै ऐच्छिक विषयतर्फ ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी ननग्रेडेडमा परेका छन्।
बोर्डका अनुसार समग्र नतिजामा सुधार देखिए पनि गणित लगायतका केही विषयमा विद्यार्थीलाई अझै चुनौती रहेको प्रष्ट भएको छ ।











