FLASH NEWS
  • Loading...

अभिभावकसँगै इटाभट्टामा काम गर्ने गोमाको एसइइमा ४ जिपिए, डाक्टर बनेर जन्मभूमिको सेवा गर्ने सपना

आर्थिक अभावको कारण अभिभावकसगै इटा भटटामा काम गर्ने गोमाको सपना डाक्टर बनेर जन्मभुमिको सेवा गर्ने रहेको छ
अभिभावकसँगै इटाभट्टामा काम गर्ने गोमाको एसइइमा ४ जिपिए, डाक्टर बनेर जन्मभूमिको सेवा गर्ने सपना

शिक्षा पाटी ।

भक्तपुर, असार १६ : चाँगुनारायण नगरपालिका–८, सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयकी गाेमा श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा जिपिए ४ ल्याउँदै भक्तपुरका उत्कृष्ट ३० विद्यार्थीमा स्थान बनाउन सफल भएकी छन्। उनले चाँगुनारायण नगरपालिकामै सबैभन्दा उत्कृष्ट विद्यार्थीकाे उपाधि समेत हात पारेकी छन्।

गाेमाले शुक्रबार धान रोपेर फर्किएपछि इन्टरनेटमा एसईईकाे नतिजा हेर्दै आफैले पनि अधिकतम जिपिए ४ प्राप्त गरेको थाहा पाइन्।

राेम्चाप घर भई सानै उमेरमा बाबुआमासँग खन्यापानी हुँदै भक्तपुर आएकी गाेमा कमजोर आर्थिक अवस्थाका कारण सामुदायिक विद्यालयमै पढ्न बाध्य भइन् । उनका बाबु मीनबहादुर श्रेष्ठले आर्थिक अभावका कारण गाेमालाई भक्तपुर ल्याएर इँटा भट्टा नजिककाे विद्यालयमा भर्ना गराएका थिए।

सानैदेखि पढाइमा रुचि देखाएकी गाेमाले बाबुआमासँग बिहान इँटा लगाउने काममा सहयोग गर्ने र दिउँसो विद्यालय जाने गरी कक्षा ९ सम्मकाे पढाइ पुरा गरिन्। कक्षा १० मा भने उनले दैनिकी परिर्वतन गरी पढाइमै केन्द्रित हुने निर्णय गरिन्।

“बाबुआमाले पनि एक वर्षजति राम्रोसंग पढ्न भन्नुभएकाेले म पढाइमा ध्यान दिन थालेँ,” गाेमाले भनिन्, “विद्यालयले पनि एसईई नजिकिएकाेले पढ्न सुझाएकाे थियाे, त्यसैले मैले बढी मेहनत गरेकी हुँ।”

भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी गाेमाले विज्ञान संकायबाट प्लस टु सकेपछि नेपालका कुनैपनि मेडिकल कलेजकाे छात्रवृत्तिबाट एमबिएस पढ्न चाहेको बताइन्।

“डाक्टर भएर जन्मथलो, देश र जनताको सेवा गर्ने इच्छा छ। त्यसका लागि म कडा मेहनत गर्न तयार छु,” गाेमाले भनिन्।


#रासस

प्रकाशित मिति: २०८२ अषाढ १६, सोमबार