शिक्षा पाटी
काठमाडौं, साउन २ – धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज देशका विभिन्न स्थानमा केही विद्यालय तथा कलेजहरू बन्द भएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षामा भइरहेको निजीकरण रोक्न, निःशुल्क शिक्षाको सुनिश्चितता गर्न र शिक्षा ऐन शीघ्र ल्याउन माग राख्दै एक दिने हड्ताल आह्वान गरेको हो।
हड्तालको प्रभाव काठमाडौं उपत्यकासहित रुपन्देही लगायतका जिल्लाहरूमा देखिएको छ। काठमाडौंका केही निजी विद्यालयले बिहीबार राति नै एसएमएसमार्फत् अभिभावकलाई शुक्रबार विद्यालय नखुल्ने जानकारी गराएका थिए। तर, केही विद्यालयले आन्तरिक परीक्षा भइरहेकाले पठनपाठन जारी राखेका छन्।
यता, काठमाडौँ र जिल्लाका कतिपय विद्यार्थी तथा अभिभावकहरूले हड्तालको नाममा पढ्न पाउने अधिकारबाट बञ्चित गराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।











