FLASH NEWS
  • Loading...

विधेयक पारित गर्न सरकारलाई २० दिने अल्टिमेटम , वेवास्ता गरे आन्दोलन गर्ने महासंघको चेतावनी

२० दिन भित्र विद्यालय शिक्षा विधेयक पारित नगरे आन्दोलन गर्ने कडा चेतावनी
  • शिक्षापाटि समाचार
  • ३७७ पटक पढिएको
विधेयक पारित गर्न सरकारलाई २० दिने अल्टिमेटम , वेवास्ता गरे आन्दोलन गर्ने महासंघको चेतावनी

शिक्षा पाटी, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग पटक–पटक संवाद गर्दा पनि कुनै ठोस नतिजा नआएपछि नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनको चेतावनी दिएको छ। महासङ्घले साउन २१ भित्र ऐन पारित नभए देशव्यापी आन्दोलन सुरु गर्ने स्पष्ट अल्टिमेटम दिएको हो।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घले संसद्को शिक्षा समितिमा जारी छलफललाई तत्काल टुङ्ग्याएर विधेयक प्रतिनिधिसभामा पेश गर्न जोड दिएको छ। महासङ्घले ऐनको ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

यही विषयमा अघिल्लो चरणमा पनि महासङ्घले चैत २० देखि झन्डै एक महिना लामो काठमाण्डौ केन्द्रित आन्दोलन गरेको थियो। त्यसपछि सरकारसँग असार १५ भित्र ऐन ल्याउने सहमति भए पनि कार्यान्वयनमा आउन नसकेको महासङ्घको गुनासो छ।

अबको २० दिनलाई निर्णायक मानेको महासङ्घले आफूहरूको आग्रह फेरि बेवास्ता भए आन्दोलनको नयाँ चरण सार्वजनिक गर्ने बताएको छ। विद्यालय शिक्षा ऐन जस्तै संवेदनशील विषयमा सरकारले गम्भीरता नदेखाएको भन्दै महासङ्घले शिक्षा क्षेत्रको भविष्य अन्योलमा पार्न नहुने चेतावनी दिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार