शिक्षा पाटी
साउन-४, तनहुँ । शिक्षण सेवा पश्चात समाजप्रति योगदानको उदाहरणीय कार्य गर्दै, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा लामो समयसम्म अध्यापन गरिसकेकी तथा हालै अवकाश प्राप्त शिक्षिका रशामाया गुरुङले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ।
विद्यालयबाट बिदाई हुने क्रममा गुरुङले रु. १,०५,५५५ (एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) बराबरको अक्षयकोषको चेक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो।
उक्त अक्षयकोषले विद्यालयको शैक्षिक सुधार, विद्यार्थी कल्याण तथा आवश्यकताका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ। विद्यालय परिवारले गुरुङको योगदानको उच्च सम्मान गर्दै यस कार्यलाई प्रेरणादायी पहलको रूपमा लिएको छ।











