- Loading...
त्रिवि विवाद चुलियो: फास्ट ट्रयाक नियुक्तिविरुद्ध प्रवेश निषेध, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यकक्षमै जान सकेनन्

- Rajau Kalauniसमाचार
- २१५ पटक पढिएको
५ साउन, काठमाडौं — त्रिभुवन विश्वविद्यालयमा “फास्ट ट्रयाक” विधिबाट प्राध्यापक नियुक्तिको तयारीविरुद्ध माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सुरु गरेको आन्दोलन चुलिँदै गएको छ।
यसै कारण, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल कार्यकक्षमा जान नपाई बाहिरबाटै काम गरिरहेका छन्। त्रिविका एक कर्मचारीका अनुसार, “प्रवेश निषेध भएकाले उहाँहरू कार्यालयमा आउनु भएको छैन, बाहिरैबाट काम गरिरहनु भएको छ।”
१४ जेठमा नेविसंघ निकट विद्यार्थीहरूले तालाबन्दी गरेपछि स्थिति बिग्रन थालेको थियो। त्यसपछि आंशिक प्राध्यापकहरू र अखिल क्रान्तिकारीको संयुक्त आन्दोलनले विश्वविद्यालयको ढोकामा पटक-पटक तालाबन्दी भयो।
सामाजिक सञ्जाल तिर
जवाफस्वरूप, सर्वोच्च अदालतले १८ असारमा तत्काल ताला खोल्न आदेश दिएको थियो। आदेशपछि सबैले आ-आफ्नो तालाचाबी खोले पनि, अखिल क्रान्तिकारीले पदाधिकारीहरूलाई अझै पनि प्रवेश निषेध कायम राखेको छ।
अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष शिवराज भट्टका अनुसार: “फास्ट ट्रयाक प्रक्रियाबाट लिखित परीक्षा बिना प्राध्यापक नियुक्त गर्न खोजिएको विरोधमा प्रवेश निषेध गरेका हौँ। यदि यो प्रक्रिया रोकियो भने हामी प्रवेश निषेध पनि हटाउनेछौँ।”
त्रिविले अनुसन्धानात्मक विशिष्टता (Research Excellence) अर्थात् “फास्ट ट्रयाक” आधारमा प्राध्यापक, सह-प्राध्यापक र उप-प्राध्यापक नियुक्त गर्न विज्ञापन आह्वान गरेको हो।
२५ असारमा उपकुलपतिमा नियुक्त भएका प्रा. डा. दीपक अर्याल भने अहिले कार्यकक्षबाटै काम गरिरहेका छन्।
“उहाँले समस्या समाधान गर्न दुई हप्ताको समय माग्नुभएको थियो, त्यसैले हामीले प्रवेशमा रोक लगाएका छैनौँ,” भट्टले स्पष्ट पारे।
तर, दुई हप्ताभित्र समाधान नभए उपकुलपति अर्यालमाथि पनि प्रवेश निषेध लागू गरिने चेतावनी संगठनले दिएको छ।










