FLASH NEWS
  • Loading...

बच्चालाई असल बनाउने ७ महत्वपूर्ण बानी, जसले बदल्छ उनीहरूको जीवन

अभिभावकले बच्चाको हरेक सानो अभ्यासलाई गम्भीरतापूर्वक हेर्न र सानोतिनो कुरामा समेत मार्गदर्शन गर्न आवश्यक छ।
  • शिक्षापाटि समाचार
  • ४६१ पटक पढिएको
बच्चालाई असल बनाउने ७ महत्वपूर्ण बानी, जसले बदल्छ उनीहरूको जीवन
शिक्षा पाटी

काठमाडौं, साउन १३। बालबालिकाको भविष्य उज्ज्वल बनाउन उनीहरूमा सानैदेखि सकारात्मक सोच र व्यवहार विकास गर्नु अत्यावश्यक मानिन्छ। अभिभावक तथा शिक्षकले बाल्यकालमै सिकाएको असल बानीले उनीहरूको सम्पूर्ण जीवनशैली निर्धारण गर्छ।

विशेषज्ञहरूका अनुसार निम्न ७ वटा असल बानीहरू बच्चालाई निरन्तर अभ्यास गराउन सकेमा उनीहरू अनुशासित, इमान्दार र आत्मनिर्भर नागरिक बन्न सक्छन्।

१. समयको कदर गर्न सिकाउनु
बच्चालाई समयमै उठ्ने, विद्यालय जानु, गृहकार्य गर्ने तथा निश्चित समयमा खाने–सुत्ने जस्ता दिनचर्या पालन गर्न सिकाउनु पर्छ।

२. सत्कार्यमा सहभागी गराउनु
बच्चालाई दया, सहयोग, दान र सेवा जस्ता मानवीय गुणको अभ्यास गराउने, जस्तै: बिरामीको स्याहार, असहायलाई सहयोग, जनावरप्रतिको करुणा आदिमा संलग्न गराउनु।

३. इमान्दार र सत्य बोल्न उत्प्रेरित गर्नु
गल्ती गरेमा स्वीकार गर्ने, झूट नबोल्ने र सही निर्णय लिन सिकाउने वातावरण बनाउनु आवश्यक छ।

४. आफ्ना जिम्मेवारी पूरा गर्न सिकाउनु
घरायसी काममा सघाउने, पुस्तक ब्यवस्थापन, झोला तयार गर्ने जस्ता कुरामा उनीहरूलाई जिम्मेवार बनाउने।

५. साफसुग्घर र सरसफाइमा ध्यान दिने बानी
नुहाउने, नङ काट्ने, दाँत माझ्ने, लुगा सफा राख्ने, फोहर नफाल्ने जस्ता दैनिक अभ्यास गराउने।

६. सामाजिक व्यवहार र शिष्टाचार सिकाउनु
ठूला-बुढालाई सम्मान, साथीहरूसँग मैत्रीपूर्ण व्यवहार, धन्यवाद भन्न सक्ने, माफी माग्न सक्ने संस्कार विकास गराउनु।

७. पढाइप्रति रुचि जगाउने
किताब पढ्ने बानी बसाल्ने, मोबाइल र टिभीको सट्टा ज्ञानवर्धक सामग्रीमा ध्यान दिने वातावरण बनाउनुपर्छ।

शिक्षाविद् तथा बाल मनोविज्ञानीहरू भन्छन् – “बानी निर्माण बाल्यकालमै गर्न सकेमा नै भविष्यमा अनुशासित र सफल जीवनको ढोका खुल्छ।”
त्यसैले अभिभावकले बच्चाको हरेक सानो अभ्यासलाई गम्भीरतापूर्वक हेर्न र सानोतिनो कुरामा समेत मार्गदर्शन गर्न आवश्यक छ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलबार