FLASH NEWS
  • Loading...

शिक्षकको चरम अभाव, १२ औं पटक विज्ञापन , विद्यार्थीको पढाइमा सिधा असर

शिक्षकको चरम अभाव, १२ औं पटक विज्ञापन , विद्यार्थीको पढाइमा सिधा असर

भदौ-११, दोलखा ।

शैलुङ गाउँपालिकाले १२ औँ पटक पनि विज्ञान र गणित विषयका शिक्षक भर्ना गर्न विज्ञापन निकाल्नुपरेको छ। यसअघि ११ पटकसम्म सूचना प्रकाशित गर्दा पनि योग्य उम्मेदवार नआएपछि पुनः करारमा शिक्षक माग गरिएको हो। तर यसपालि पनि शिक्षक पाइनसक्ने निश्चितता छैन।

शिक्षक नपाइरहेको यस अवस्थाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पर्न थालेको छ। विशेषगरी गणित र विज्ञान विषयमा शिक्षक अभावले विद्यार्थीहरू परीक्षामै असफल हुने खतरा बढेको प्रधानाध्यापकहरूले बताएका छन्।

शिक्षक अभावका कारण कक्षा सञ्चालनमै समस्या देखिएको र वैकल्पिक व्यवस्था गर्न कठिन भइरहेको विद्यालय प्रशासनको गुनासो छ। स्थानीय तहले पटक–पटक विज्ञापन जारी गर्दा पनि इच्छुक शिक्षक नआउनुको कारण शिक्षण पेशाप्रति घट्दो आकर्षण, कम पारिश्रमिक र अस्थायी करार प्रथालाई मानिन्छ।

विशेषज्ञहरूका अनुसार स्थायी नियुक्ति नभई अस्थायी करार प्रणालीमै शिक्षक खोज्दा युवाहरू अन्य पेशातर्फ आकर्षित भइरहेका छन्। यसले गाउँस्तरमा अझ ठूलो शिक्षा संकट निम्त्याइरहेको छ।

शिक्षक अभावले विद्यार्थीको शैक्षिक भविष्य धरापमा परेको भन्दै स्थानीय अभिभावकहरूले चाँडो समाधान खोज्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। अब पनि शिक्षक नपाइए शैक्षिक गुणस्तर गम्भीर संकटमा पर्ने देखिन्छ।

शिक्षक विज्ञापनको सूचना

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार