- Loading...
Gen Z आन्दोलन : गलत कदमविरुद्धको आवाज तर राष्ट्रको गरिमा र सम्पत्तिमा आघात

- Rajau Kalauniस्वदेश
- ५०२ पटक पढिएको

सामाजिक सञ्जाल तिर
नेपालमा भड्किएको जेन जेड आन्दोलन अहिले गम्भीर राजनीतिक संकटमा परिणत भएको छ। प्रशासनिक, न्यायिक र संवैधानिक निकायमा भएको अन्यायपूर्ण बर्खास्ती, सर्वोच्च अदालतको विवादास्पद निर्णयहरू, र संवैधानिक संस्थाहरूमा देखिएको गैरजिम्मेवारीविरुद्ध युवा पुस्ताले सडक आन्दोलन चर्काएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो।
आन्दोलनको दबाबबीच अहिले देश सरकारविहीन अवस्थामा पुगेको छ। सिंहदरबार सुनसान छ, जलिरहेको छ,जिम्मेवारीबाहक नेतृत्वको अभाव देखिन्छ, र राजनीतिक शक्ति पूर्णतया संकटमा परेको छ।
युवापुस्ताले आफ्ना मागलाई प्रष्ट पार्दै प्रणालीगत सुधारको आवाज बुलन्द गरे पनि, आन्दोलनको अँध्यारो पक्ष पनि प्रकट भएको छ। सार्वजनिक सम्पत्ति तोडफोड, ऐतिहासिक संरचनामा क्षति, र राष्ट्रको गरिमामाथि प्रहार भएका घटनाले आन्दोलनको औचित्यलाई कमजोर बनाएको छ।
यस्तै परिस्थितिमा नेपाल सेनाले असामान्य कदम चाल्दै जेन जेड नेतृत्वसँग संवादमा आउन आह्वान गरेको छ। सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, “देशको भविष्यलाई बचाउन शान्तिपूर्ण वार्ता अपरिहार्य छ। युवाको आवाज सुन्नुपर्छ तर राष्ट्रिय सम्पत्ति र गौरव सुरक्षित राख्नुपर्छ।”
नागरिक समाज र विज्ञहरूका अनुसार अहिलेको अवस्था अत्यन्तै संवेदनशील छ। एकतर्फ आन्दोलनकारी युवाको आक्रोश छ भने अर्कोतर्फ नेतृत्वविहीन देश संकटतर्फ धकेलिँदै गएको छ। उनीहरूको भनाइमा, “जेन जेडको जागरण ऐतिहासिक हो, तर यदि राष्ट्रकै आधारभूत संरचना नष्ट भयो भने त्यो जागरणको उपलब्धि शून्य हुनेछ।”









