- Loading...
दरबार हाइ स्कुल को १७२ औं वार्षिकोत्सव सम्पन्न: ‘नमुना विद्यालय बनाउने’ कार्यबाहक प्रमुख डङ्गोलको प्रतिवद्धता

- शिक्षापाटि विद्यालय गतिविधि
- ९५ पटक पढिएको
काठमाडौँ, २२ माघ ।
नेपालको आधुनिक शिक्षाको जननी मानिने ऐतिहासिक दरबार हाइ स्कुल (भानु माध्यमिक विद्यालय) ले आफ्नो स्थापनाको १७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार जमलस्थित राष्ट्रिय नाचघरमा भव्यताका साथ सम्पन्न गरेको छ। विक्रम संवत १९१० मा स्थापित यो विद्यालयले नेपालको शैक्षिक इतिहासमा साढे १७ दशक लामो गौरवमय यात्रा पूरा गरेको अवसरमा विशेष समारोह आयोजना गरेको हो।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा कार्यबाहक प्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो।
ऐतिहासिकता र आधुनिकताको संगम
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै प्रमुख अतिथि सुनिता डङ्गोलले दरबार हाइ स्कुलको ऐतिहासिक विरासतको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो:
”नेपालमा शिक्षाको ज्योति फैलाउने पहिलो विद्यालय दरबार हाइ स्कुल हुनु आफैँमा गर्वको विषय हो। यो केवल एउटा शैक्षिक संस्था मात्र नभई हाम्रो राष्ट्रिय गौरव पनि हो। यसको ऐतिहासिक गरिमालाई कायम राख्दै आधुनिक प्रविधिमैत्री शिक्षा (Smart Education) सँग जोडेर यसलाई जसरी भए पनि देशकै नमुना विद्यालयका रूपमा स्थापित गर्न महानगरपालिका पूर्ण रूपमा प्रतिवद्ध छ।”
विद्यार्थीको प्रतिभा र सांस्कृतिक विविधता
राष्ट्रिय नाचघरको स्टेजमा विद्यार्थीहरूले आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले नेपालको हिमाल, पहाड र तराईको पहिचान झल्कने विभिन्न जातजातिका लोक नृत्यहरू प्रस्तुत गर्दा हल तालीले गुञ्जायमान भएको थियो। साथै, सामाजिक चेतना जगाउने छोटो नाटक र राष्ट्रभक्तिले ओतप्रोत गीतहरूले कार्यक्रममा थप रौनक थपेको थियो।
सम्मान तथा पुरस्कृत व्यक्तित्वहरू
विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। सो क्रममा वर्षभरिकै उत्कृष्ट शिक्षक, जेहेन्दार तथा अनुशासित विद्यार्थी, सक्रिय अभिभावक र विद्यालयलाई भौतिक एवं शैक्षिक सहयोग पुर्याउने विभिन्न सहयोगी संघ-संस्थाहरूलाई प्रमुख अतिथिद्वारा प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

आगामी योजना र नेतृत्वको प्रतिवद्धता
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं का.म.पा. वडा नं. २७ का वडा अध्यक्ष योगेश कुमार खड्गीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विद्यालयकी प्रधानाध्यापक शारदा कुमारी पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले भन्नुभयो:
”हामी भौतिक पुनर्निर्माणपछि अब शैक्षिक गुणस्तर सुधारमा केन्द्रित छौँ। आगामी दिनमा विज्ञान प्रयोगशाला, पुस्तकालयको सुदृढीकरण र अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीलाई ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो लक्ष्य छ।”
समारोहको अन्त्यमा प्रधानाध्यापक पौडेलले प्रमुख अतिथि सुनिता डङ्गोल र अन्य अतिथिहरूलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रममा महानगरका शिक्षा विभागका कर्मचारीहरू, शिक्षाविद्, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थी र अभिभावकहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

सामाजिक सञ्जाल तिर










