FLASH NEWS
  • Loading...

​एसईई नतिजा सुधार्न महानगरको ‘मिसन ६२७’: हीनताबोध हटाउन विद्यालयमै विशेष कक्षा

  • शिक्षापाटि समाचार
  • १७३ पटक पढिएको
​एसईई नतिजा सुधार्न महानगरको ‘मिसन ६२७’: हीनताबोध हटाउन विद्यालयमै विशेष कक्षा

काठमाडौं

१२ फागुन २०८२। काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गुणात्मक फड्को मार्न विशेष अभियान सुरु गरेको छ। ‘कोही नछुटुन्, कोही नझुुकुन्’ भन्ने भावनाका साथ महानगरले न्यून नतिजा भएका ११ विद्यालयका ६२७ विद्यार्थीलाई लक्षित गरी विशेष कक्षा सञ्चालनमा ल्याएको हो।

​विद्यालयमै विशेष कक्षा: किन फेरियो शैली?

​विगतका वर्षहरूमा विद्यार्थीलाई अर्को विद्यालयको केन्द्रमा लगेर पढाउने अभ्यास थियो। तर, यसले विद्यार्थीमा ‘हामी कमजोर हौँ’ भन्ने हीनताबोध गराएको र आउजाउमा सास्ती भएको निष्कर्ष निकाल्दै महानगरले यस वर्ष आफ्नै विद्यालयमा विज्ञ शिक्षक पठाउने नीति लिएको छ।

​शिक्षा अधिकृत केशव ज्ञवाली भन्नुहुन्छ, “विद्यार्थीको मनोविज्ञानलाई बुझेर यसपटक उनीहरूकै परिचित वातावरणमा कक्षा सञ्चालन गरेका हौँ, जसले उनीहरूको आत्मविश्वास बढ्नेछ।”

​दुई चरणमा कक्षा सञ्चालन

​महानगरले कूल परीक्षार्थीको १३ प्रतिशत (६२७ जना) लाई यो विशेष समूहमा राखेको छ:

महानगरपालिकाले यो विशेष कक्षा अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्दैछ। पहिलो चरणमा ६ वटा विद्यालयका ५२३ जना विद्यार्थीलाई सहभागी गराइँदैछ, जसमा गीतामाता, कोटेश्वर सरस्वती, जुद्धोदय र पद्मकन्या लगायतका विद्यालयहरू समेटिएका छन् र यी कक्षाहरू आजैदेखि सुरु भएका छन्।

​त्यसैगरी, दोस्रो चरणको कार्यक्रम आगामी चैत ३ गतेपछि सुरु हुनेछ। यस चरणमा प्रभात, नवयुग, नेपाल आदर्श र नन्दी रात्री लगायतका ५ वटा विद्यालयका १०४ जना विद्यार्थीहरू सहभागी हुनेछन्। यसरी दुवै चरण गरेर कुल ६२७ जना विद्यार्थीलाई विशेष सिकाइ समूहमा राखिएको छ।

“चिन्ता छाड्नुस्, आत्मविश्वासका साथ लेख्नुस्” – कार्यवाहक प्रमुख डंगोल

​गीतामाता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीसँग संवाद गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीको मनोबल उच्च बनाउनु भयो। उहाँले भन्नुभयो:​”तयारीका बेला मात्र चिन्ता गर्नुस्, परीक्षा हलमा छिरेपछि होइन। प्रश्नले जे मागेको छ, त्यही लेख्नुस् र सबै प्रश्नको उत्तर दिने प्रयास गर्नुस्। तपाईंहरू यो विद्यालयको इतिहासकै सबैभन्दा उत्कृष्ट ब्याच बन्नुहुनेछ।”

​त्यस्तै, वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले सफलताका लागि शारीरिक र मानसिक स्फूर्तिसँगै कडा मिहिनेत अनिवार्य रहेको बताउनुभयो। शिक्षा विभाग प्रमुख नमराज ढकालले विश्वका सफल व्यक्तिहरूको उदाहरण दिँदै १० गुणा बढी मिहिनेत नै सफलताको मन्त्र भएको उल्लेख गर्नुभयो।

​उपलब्धि र आशाको सङ्केत

​महानगरले शिक्षा क्षेत्रमा गरेका लगानीका कारण नतिजा क्रमश: सुधारोन्मुख छ। तथ्याङ्क अनुसार:

  • २०८१ को नतिजा: ७८९ जनाले ३.६१ देखि ४ जीपीए ल्याए (जुन अघिल्लो वर्षको तुलनामा ४४.७७% ले बढी हो)।
  • यस वर्षको लक्ष्य: सामुदायिक विद्यालयका करिब ४,५५७ विद्यार्थीलाई उत्कृष्ट नतिजा दिलाउने।

​कक्षा १० की छात्रा रोजिना तामाङ महानगरको यो सक्रियताबाट उत्साहित छिन्। “स्थानीय सरकारले हाम्रो पढाइ र भविष्यको चिन्ता गरिदिँदा हामीलाई थप ऊर्जा मिलेको छ,” उनले प्रतिवद्धता जनाउँदै भनिन्।

​महानगरले दिवा खाजा, ‘पुस्तक रहित शुक्रवार’, र डिजिटल शिक्षण पद्धति जस्ता कार्यक्रमले शैक्षिक वातावरण सुध्रिएको दाबी गरेको छ। विशेष कक्षामा विषय विज्ञ र सेवा निवृत्त अनुभवी शिक्षकहरूले विद्यार्थीलाई उत्तर लेखन शैली र परीक्षाको दबाब व्यवस्थापन गर्न सिकाउनेछन्।

प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार