FLASH NEWS
  • Loading...

परीक्षा दिन हिँडेका गौतम बसको ढोकाबाट हामफालेर ज्यान जोगाए

परीक्षा दिन हिँडेका गौतम बसको ढोकाबाट हामफालेर ज्यान जोगाए

काठमाडौं : बाँकेको नेपालगंज उपमहानगरपालिका– १२ कोरियनपुरका २४ वर्षीय आशुतोष गौतम बुटवल जान शुक्रबार भे १ ख ३९१२ नम्बरको रात्रीबस नेपालगंजबाट चढेका थिए।

सामाजिक सञ्जाल तिर

शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा थियो। शुक्रबार प्रशासन तर्फको सकिएपछि शनिबार लगततर्फको परीक्षा थियो । उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्छन्।

उनको एउटा अनौठो बानी रहेछ; बसको सिटमा नबस्ने। ‘मेरो अचम्मको बानी छ,’ उनले भने, ‘काठमााडौं जाँदा पनि कहिल्यै सिटमा बस्दिनँ, उभिएरै यात्रा गर्छु।’

नेपालगंजबाट छुटेको बसले झन्डै डेढ सय किलोमिटर यात्रा पार गरेर राति करिब १० बजे भालुवाङ पुग्यो।

बस सल्यानको त्रिबेणी गाउँपालिका– ४ का २८ बर्षीय लालबहादुर नेपालीले हाँकेका थिए।

बसका सहचालक बाँकेको बैजापुर गाउँपालिका– ३ का २१ बर्षीय शंकर थारुसँग चिनापर्ची थियो। गौतमका अनुसार चिनजान भएकाले उनी सहचालकसँग ढोकानजिक उभिएर यात्रा गर्दै थिए।

भालुवाङमा ट्राफिक चेकपोइन्ट नजिक पुगेपनि बस रोकिएन तर त्यसको हाइड्रोलिक ढोका भने खुल्यो। चेकपोस्ट राप्ती नदीको मुखमै छ। त्यहाँ चेकिङ भइरहेको भएपनि चालकले रोक्दै नरोकी हुँइक्याए।

त्यतिबेला बस ७०/८० को स्पिडमा रहेको गौतमको अनुमान छ। बस चेकजाँचका लागि त्यहाँ रहेका ट्राफिक प्रहरीले सिटी पनि फुकेका रहेछन्। तर चालकले रोक्दै नरोकी बस दौडाए।

केही पर पुगेपछि बस दायाँ बायाँ गर्दै अगाडि बढ्न थालेपछि मुटुमा ढ्यांग्रो बज्न थालेको गौतम सुनाउँछन् । ‘निमेषभरमै डिभाइडरमा ठोक्किएर ठूलो आवाज आयो,’ उनले भने।

बस दायाँबाया हल्लिन थालेपछि आफू हामफालेको उनले बताए। ‘ढोका खुल्लै थियो, अब दुर्घटना नै हुने हो भन्ने लागिसकेको थियो। बरू हातखुट्टा भाँचिए भाँचियोस् ज्यान त जोगिएला भनेर ढोकाबाट पुलमा हामफालें,’ उनले भने।

पुलमाथि हामफालेको निमेषमै ठूलो आवाजका साथ बस राप्ती नदीमा बजारिएको उनले बताए। ‘जसोतसो उठेर हेरेँ, दिमाग शून्य भयो। के गर्ने भन्ने नै सोँच्न सकिनँ,’ उनले भने।

एकैछिनमा बसमा रहेका अन्य यात्रुको चिच्याहट सुनेपछि उनी होसमा आए। तल बसबाट मानिसहरू ‘बचाउ, बचाउ’ भनिरहेका थिए। गौतम पनि ‘बस खस्यो’ भन्दै कराउन थाले।

चेकपोइन्टमै रहेका प्रहरीहरू पनि दौडिएर आउँदै रहेछन्। एकैछिनमा ट्राफिक, प्रहरी र भालुवाङबासी दुर्घटनास्थलमा जम्मा भएर घाइतेहरुको उद्धारमा खटिए। गौतम सामान्य घाइते भएका थिए। त्यहाँ उनीहरूसँगै घाइतेको उद्धार गर्न जुटे।

केहीबेर अघि ढोकामा आफूसँगै उभिइरहेको सहचालकको उद्धारपछि उनलाई लिएर उपचार गर्न उनी भालुवाङको क्लिनिकमा गए।

हाम फाल्दा पुलमाथि एक बल्ड्याङ खाएपनि आफू सकुशल रहेको गौतम बताउँछन्। ‘दायाँ हातमा सामान्य चोट लागेको थियो, एक्स-रे गर्दा खासै चोट नदेखिएपछि चिकित्सकले पेनकिलर दिनुभएको थियो,’ उनले भने।

शंकरको पनि बाँकेमा उपचार जारी छ। दुर्घटनामा अन्य १२ जनाको मृत्यु भएको छ भने उनीबाहेक २२ जना घाइते छन्। नारायण खड्काले लेखेको यो समाचार सेतोपाटीबाट लिइएको हो l

प्रकाशित मिति: २०८० पौष २८, शनिबार