FLASH NEWS
  • Loading...

महानगरका ४० सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

महानगरका ४० सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

काठमाण्डौ :  काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । हरेक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको  महानगरपालिकाले जनाएको छ ।

सामाजिक सञ्जाल तिर

यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । महानगरले अन्य विद्यालयमा पनि यो कार्यक्रम विस्तार गरिरहेको महानगरपालिकाका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

सल्लाहकार श्रेष्ठका अनुसार छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् ।

विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिने र जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्ने उहाँको भनाइ छ । विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि सङ्केत गरेर अन्यलाई सहयोग गर्नेछन् ।

यो कार्यक्रम काठमाण्डौ महानगरपालिकामा सञ्चालनमा रहेका ८९ वटै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने भनिए पनि पूर्वप्राथमिक विद्यालयमा साना बालबालिकालाई यस किसिमको कार्यक्रममा सहभागी गराउन नसक्ने उहाँको भनाइ छ । त्यसका लागि महानगरपालिकाले पहिलो चरणमा ४० विद्यालयलाई छनौट गरेको छ । कार्यक्रमका लागि चालु आर्थिक वर्षमा महानगरले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैबीच महानगरपालिकाले विद्यालय अगाडि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारीसमेत गरेको छ । यसअघि बबरमहलमा प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ ठाउँमा प्रणाली जडान गर्न लागेको माठमाण्डौ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । महानगरमा अहिले ८९ सामुदायिक र पाँच सय चार वटा निजी विद्यालय सञ्चालित छन् ।  उज्यालो अनलाइनमा खबर प्रकाशित छ ।

प्रकाशित मिति: २०८० पौष २१, शनिबार