FLASH NEWS
  • Loading...

सिन्धुलीमा विद्यार्थीद्वारा तिहारको लागि फूल उत्पादन

सिन्धुलीमा विद्यार्थीद्वारा तिहारको लागि फूल उत्पादन

सिन्धुलीमाढी, कात्तिक १७ गते । सुनकोसी गाँउपालिका –३ स्थित प्रगतिशील माविमा अध्ययनरत विद्यार्थीले पढाइसँगै सयपत्री फूलखेती गरेर फूल उत्पादन गरेका छन् ।

सामाजिक सञ्जाल तिर

विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत यो वर्षको तिहारलाई लक्षित गरी फूल खेती गरेको विद्यार्थीको भनाइ छ । व्यवस्थापन विषयमा कक्षा १२ मा अध्ययनरत भावना श्रेष्ठका अनुसार विद्यालयको पाँच रोपनी जमिनमा विद्यार्थीले मौसमअनुसारको तरकारी खेती र फूल खेती गर्दैआएका छन् । झण्डै दुई रोपनी जमिनमा तिहारका लागि लगाएको सयपत्री फूल विक्री भइसकेको छ ।

झण्डै पचास केजी फूल उत्पादन भएको र उत्पादित फूल सबै बिक्री भइ १६ हजार रुपियाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । विद्यालयको प्रधानाध्यापक सरिता चौलागाईंले स्थानीय व्यापारीलाई बोटबाटै अन्दाजी प्रतिकेजी चारसय रुपियाँ पर्नेगरी बिक्री गरेको बताउनुभयो ।

‘विद्यालयमा गत चैत महिनादेखि पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन भएको हो । पहिलो पटक सयपत्री फूल उत्पादन गरी बिक्री गरेका छौं’ उहाँले भन्नुभयो, ‘फूलबाट भएको आम्दानी फूल रोप्ने, गाड्मेल गर्ने विद्यार्थीलाई दैनिक ज्यालास्वरुप दिएर बाँकी रहेको रकम कार्यविधिअनुसार विद्यालयमा राख्छौं ।’

विद्यालयले सयपत्री फूल बाहेक सिजनअनुसार भान्टा, खुर्सानी, मौरीपालन गर्दैआएका र त्यसबाट हुने आम्दानीले विद्यार्थीले आफ्नो शिक्षामा खर्च गर्दैआएको उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषिमा पनि आबद्ध भएको उहाँको भनाइ छ । विद्यार्थीले विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाएको उहाँको भनाइ छ ।

त्यस्तै, कमलामाई नगरपालिका –५ स्थित जनज्योति मावि फोस्रेटारका विद्यार्थी पनि तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली एक कठ्ठा जग्गामा फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त फूलखेती गरिएको कक्षा ११ मा अध्ययनरत विनीता तोलाङ्गेले जानकारी दिनुभयो ।

प्रतिकेजी चारसय रुपियाँका दरले फूल बिक्री भइरहेको र माला गाँसेर प्रतिकेजी ४५० रुपियाँ पर्ने उहाँले बताउनुभयो । उक्त विद्यालयमा गत वर्षदेखि सयपत्री फूलखेती सुरु गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीले दुई केजी फूलको अर्डर आएको र त्यति नपुग्ने बताउनुभयो । त्यसो त अहिले उक्त विद्यालयको परिसर नै आकर्षित देखिने गरी बगैंचामा सयपत्री फूल फुलेर ढकमक्क भएको छ । सो फूल खेती आगामी वर्ष अझ बिस्तार गर्ने विद्यालयको योजना छ ।

प्राक्टिकलसँगै आम्दानी पनि हुने देखेर पढ्दै, कमाउँदै कार्यक्रमप्रति विद्यार्थी आकर्षित देखिएको प्रधानाध्यापक अधिकारीले सुनाउनुभयो । उहाँका अनुसार कक्षा ८, ९, १० र कृषि जेटिएतर्फका विद्यार्थी उक्त कार्यक्रमप्रति आकर्षित देखिएका छन् ।

विद्यार्थीले काम गरेर उत्पादन गरेको तरकारी, फूल, अन्नबाली बिक्री गरेर भएको आम्दानीबाट दुई सयजना विद्यार्थीलाई दसैंमा जनही चार हजार पाँचसय रुपियाँका दरले नगद वितरण गरिएको छ । गोरखापत्र

प्रकाशित मिति: २०८० कार्तिक १७, शुक्रबार