FLASH NEWS
  • Loading...

व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

रामपुर (पाल्पा), कात्तिक २० गते । गत शुक्रबार रामपुर आधारभूत विद्यालय रामपुर –५ पाल्पाका विद्यार्थीले दीपावलीका लागि माटोको पाला तयार गरे । परम्परागत शैलीमा कपासको बाटी काट्न पनि उनीहरूले सिके ।

सामाजिक सञ्जाल तिर

सोही दिन रामपुर आधारभूतसँगै कालिका माध्यमिक विद्यालय रामपुर –४ र नवदुर्गा माध्यमिक विद्यालय रामपुर –६ का विद्यार्थीले तिहारका लागि सयपत्रीको माला गाँस्ने सीप लिँदै थिए । पुष्प व्यवसायी कृषक दिलबहादुर थापाले सयपत्रीको माला गाँस्न सिकाउँदै थिए । केही हप्ता अघिको शुक्रबार बालज्योति प्रावि रामपुर –१ मा विद्यार्थीले पञ्चेबाजा बजाउन, पराल र मकैको ढोडबाट चकटी बनाउने अभ्यास गरे ।

विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी सीप सिकाउन रामपुर नगरका सबै  विद्यालयमा किताबरहित शुक्रबार कार्यक्रम लागु भएको छ । रामपुर नगरपालिकाले चालु शैक्षिकसत्रबाट सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ अन्तर्गत विद्यालयले व्यवहारमा लागुहुने सीप तथा ज्ञान प्रदान गर्दैआएको हो ।

हाम्रो दैनिक जीवनसँग जोडिएका हस्तकलाका सामग्री निर्माण, मौलिक परम्परागत शैली र नैतिक शिक्षाको दिने काम शुक्रबारको दिन हुँदैआएको रामपुर आधारभूत विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “बुक फ्रि फ्राइडे अन्तर्गत भएका कार्यक्रममा विद्यार्थी निकै उत्साहित भएका छन् । स्थानीय स्रोत र साधनको उपयोगगरी व्यवहारमा लागु हुने सीप सिकाउँदैआएका छौँ ।”

नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेर किताबरहित शुक्रबार कार्यक्रम कार्यान्वयन गरेसँगै नगरभित्र रहेका ५२ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय गतिविधि सञ्चालन भइरहेको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

अहिले व्यावहारिक सीपहरू प्रदान गर्दैआएको र माध्यमिक तहका विद्यालयमा व्यावसायिक सीप प्रदान गर्ने लक्ष्य रहेको शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । “नगरको सामुदायिक र संस्थागत सबै विद्यालयमा कार्यक्रम लागु भएको छ । प्रत्येक विद्यालयले कार्ययोजना निर्माण गरी सोहीअनुसार गतिविधि सञ्चालन गर्दैआएका छन् ।”

साथै कार्यक्रमको नगरपालिकाले अनुगमन पनि सुरु गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीलाई संस्कारसहितको व्यावहारिक ज्ञान प्रदान गर्न ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराइ सोही कला र क्षमताको विकास गर्न कार्यक्रमको अवधारणा ल्याइएको बताउनुभयो । विद्यालयमा दिइने सैद्धान्तिक ज्ञान व्यावहारिक नहुने र असल व्यक्ति नहुने भन्दै व्यावहारिक ज्ञानले मात्र असल व्यक्ति बनाउने उल्लेख गर्नुभयो । गोरखापत्र

प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार