FLASH NEWS
  • Loading...

गाउँको फोहोर शङ्कलन गरेर शैक्षिक सामग्रीको निर्माण

  • शिक्षापाटि
  • समाचार
  • ४९८ पटक पढिएको
गाउँको फोहोर शङ्कलन गरेर शैक्षिक सामग्रीको निर्माण

बझाङ : गाउँमा पाइने फोहोर सामुदायिक विद्यालयमा दिइन्छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।  कतिपयलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । तर बझाङको थलारा गाउँपालिकामा यस्ता धेरै विद्यालयहरु छन् । जहाँ गाउँ-गाउँमा रहेका विभिन्न पसलहरुबाट निस्किएको फोहोर विद्यालयमा लगेर दिइन्छ । यस्तै फोहोर लिने एउटा विद्यालय हो थलारा गाउँपालिका वडा नम्बर ३ मा रहेको धौलदेउ आभारभूत विद्यालय गडीगाउँ ।

सामाजिक सञ्जाल तिर

यस विद्यालयमा अध्यापन गराउने शिक्षकले मात्रै नभइ अहिले गाउँमा फ्याकिँएका काम नलाग्ने विभिन्न चाउचाउ, बिस्कुटका कार्टुन तथा खोस्टा, बिँडी चुरोटका खाली बट्टा, तास, मकैका खोया, विभिन्न काठका स–साना छेस्का, जाँडरक्सीका खाली सीसी, प्लास्टिकका बोतल आदि सबै विद्यालयले लिने गर्छ । यी सबै फोहोरबाट यहाँका शिक्षक-शिक्षिकाहरुले विभिन्न रंगरोगन लगाएर शैक्षिक सामग्री निर्माण गर्ने गरेका छन् ।

यिनै शैक्षिक सामग्री प्रयोग गरेर पछि विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई अध्यापन गराउने गरिएको छ । लामो समयदेखि शैक्षिक सामग्रीहरुको प्रयोग विना नै अध्यापन गराउँदै आएका शिक्षकहरुले अहिले विभिन्न काम नलाग्ने फोहोरहरुबाट शैक्षिक सामग्री निर्माण गरेर विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएमएनको आर्थिक सहयोगमा प्रगतिशील युवा समाजको सहकार्य तथा थलारा गाउँपालिकाको समन्वयमा क्रियाकलापमा आधारित सिकाइ परियोजना लागू भएपछि यस विद्यालयका शिक्षकहरुले फोहोरमार्फत शैक्षिक सामग्री निर्माण गरेर विद्यार्थीहरुलाई अध्यापन गराउन शुरु गरेका हुन् ।

यस परियोजनाले शैक्षिक सामग्री निर्माण गर्ने तालिम दिएपछि आफूहरुलाई सहज भएको विद्यालयमा अध्यापन गराउँदै आउनु भएकी शिक्षिका ललिता बोहराले बताउनु भयो । उहाँका अनुसार शुरुमा गाउँमा भएको फोहोर विद्यालयमा ल्याउँदा गाउँलेहरुले आफूहरुलाई गिज्याउने गरेको उहाँको अनुभव छ । ‘मलाई फोहोर टिप्ने मेडम, फोहोरले विद्यालय भर्न थालिन्, यिनले  केटाकेटीलाई के शिक्षा देलिन् भनेर नानथरी भन्दै अभिभावकहरुले नै कुरा काट्न शुरु गरे,’ उहाँ भन्नुहुन्छ ।

‘जब मैले त्यही फोहोरबाट विभिन्न शैक्षिक सामग्री निर्माण गरी तिनका केटाकेटीहरुलाई पढाउन शुरु गरेँ । त्यसपछि ती शैक्षिक सामग्री देख्ने अभिभावकहरु जिल्ल परे ।

पहिले गाउँमा भएका फोहोरहरु आफैँले टिपेर ल्याउनु पर्थ्याे । तर अहिले उनीहरुले आफ्ना स–साना छोराछोरीको हातमा आफैँले फोहोर सङ्कलन गरेर दिने गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘अहिले हामीहरुलाई शैक्षिक सामग्री निर्माण गर्न निकै सहज भएको छ । अहिले शैक्षिक सामग्री निर्माण गर्नमा अभिभावक विद्यार्थीको पनि सहयोग रहने गरेको छ ।’

यसरी फोहरबाट शैक्षिक सामग्री निर्माण हुन थालेपछि, गाउँमा जथाभावी रुपमा देखिने फोहोरमा कमी आएको छ भने अर्कोतर्फ कामै नलाग्ने फोहोरबाट शैक्षिक सामग्रीहरु निर्माण गरी बालबालिकालाई अध्यापन गराउन सजिलो भएको छ । यसरी शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा स–साना बालबालिकाहरु ध्यान दिएर सिक्ने र यसले शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रध्यानाध्यापक प्रेम बोहराको बुझाइ छ ।

यसरी गाउँमा भएको फोहोर सङ्कलन गरेर विद्यालयमा लिने काम यस विद्यालयमा मात्रै नभइ वडा नम्बर ३ मा रहेको नवादेउ आधारभूत विद्यालयका शिक्षक-शिक्षिकाहरुले पनि गर्छन् । यस विद्यालयमा पनि विभिन्न फोहोरहरुबाट विभिन्न प्रकारका कार्टुन, पुतली ,गुच्चा, विभिन्न चित्रहरु निर्माण गरेर शिक्षण गर्दा तिनै फोहोरहरुबाट तयार पारेका सामग्रीहरुको प्रयोग गर्ने गरेको वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।

शुरुमा सबै अभिभावकहरुले यसरी फोहोर लिएको देख्दा हेत्तेरिका यिनीहले के गर्न थाले ? फोहोर लिएर विद्यालयमा किन भर्न थालेका होलान् ? छोराछोरीलाई पढाउन छोडेर बालबालिकालाई फोहोर लिएर आउ किन भनेको होला भन्दै सबै अभिभावकहरुले कुरा काट्न शुरु गरेका थिए ।

जब त्यही फोहोरबाट विभिन्न शैक्षिक सामग्रीले बालबालिका पढ्ने कक्षा कोठा फोहोरबाट तयार पारिएका शैक्षिक सामग्रीले रङ्गीचङ्गी भएको देखे र सुने समाजमा कुरा काट्ने अभिभावकहरुले पनी शिक्षक-शिक्षिकाहरुलाई धन्यवाद दिन शुरु गरे ।

यसरी शिक्षक-शिक्षिकाको आनीबानीमा परिवर्तन र शैक्षिक क्षेत्रमा सुधार गरेको यूएमएनको सहयोग प्रगतिशील युवा समाजको साझेदारी र थलारा गाउँपालिकाको समन्वयद्वारा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाले गर्दा भएको बताए ।
उज्यालो अनलाइन

प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार